अग्रणी सामाजिक संस्था रोटरी क्लबले एक विद्यालयलाई २० थान कप्युटरसहितको ल्याब हस्तान्तरण गरेको छ । रोटरी क्लब अफ नारायणी मिड टाउनले अरुणोदय माविमा एक औपचारिक कार्यक्रमको आयोजना गरी आइतबार २० थान कप्युटरसहितको ल्याब विद्यालयलाई हस्तान्तरण गरेको हो ।
रोटरी क्लब अफ मकाउल एडु टेक नेपाल, रोटरी क्लब अफ फिस्टेल पोखराको सहकार्य तथा सौजन्यबाट भरतपुर–६, गीतानगरस्थित अरुणोदय माविमा उक्त कम्प्युटर सेटहरू हस्तान्तरण गरिएको थियो ।
रोटरी इन्टरनेसनल ३२९२ का डिस्ट्रिक गर्भनर नोमिनी रोटरियन विनोद कोइरालाको प्रयासबाट प्राप्त उक्त कम्प्युटरको हस्तान्तरण समारोहको संयोजन तथा व्यवस्थापन रोटरी क्लब अफ नारायणी मिड टाउनले गरेको थियो ।
हस्तान्तरण समारोहमा बोल्दै डिस्ट्रिक गर्भनर नोमिनी कोइरालाले हस्तान्तरित कम्प्युटरमो माध्यमबाट सूचना प्रविधिको सहायतामा विद्यार्थीहरू आजको युगको आवश्यकतासँग परिचित हुने र समाजमा स्वावलम्बी भई अगाडि बढ्न सहयोगी हुने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा रोटरी क्बल अफ नारायणी मिड टाउनका अध्यक्ष अर्पणा प्रधान तथा पूर्वअध्यक्ष अनिलकुमार थपलियाले मन्तव्य व्यक्त गरेका थिए ।

